२९।बैशाख।कानेपाेखरी।

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा शनिबार कोशी प्रदेश कार्यालयले बीमा क्षेत्रसँग आबद्ध बीमक तथा सर्वेयरहरूबीच क्रिक्सल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता विराट स्पोट्र्स जोनमा सम्पन्न भएको हो ।
प्रतियोगितामा जीवन बीमा कम्पनीतर्फ दुई टोली, निर्जीवन बीमा कम्पनीतर्फ दुई टोली, माइक्रो लाइफ बीमाबाट एक टोली, माइक्रो नन–लाइफबाट एक टोली, बीमा कम्पनीका प्रदेश प्रमुख तथा सर्भेयरहरूको संयुक्त एक टोली तथा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको एक टोली गरी आठ टोलीको सहभागिता रहेको थियो ।


प्रतिस्पर्धात्मक फाइनल खेलमा जीवन बीमा बीमक टोली ‘बी’ र निर्जीवन बीमा बीमक टोली ‘बी’ बीच प्रतिस्पर्धा भएको थियो । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै निर्जीवन बीमा कम्पनीको टोली विजेता बनेको आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न बीमा कम्पनीका प्रदेश प्रमुख, प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतियोगितामा सरोज बस्नेत प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले प्रतियोगिताभर १०२ रन बनाउनुका साथै ३ विकेटसमेत लिए । सर्वाधिक रनकर्ता पनि उनी नै बने । यस्तै, सञ्जयकुमार मण्डलले सर्वाधिक ८ विकेट हात पार्दै उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए ।