जेठ,२३।विराटनगर

राजबंसी समाज विकास समिति (रासबिस) भित्र लामो समयदेखि जारी आन्तरिक विवाद र विभाजनप्रति असन्तुष्टि जनाउँदै मोरङ जिल्ला सदस्य तथा स्वतन्त्र पत्रकार संजय राजबंशीले संस्थामा रहेका आफ्ना सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले समाजको एकताका लागि पटक–पटक पहल गरे पनि नेतृत्व तहबाट सकारात्मक प्रयास नभएको बताए। करिब तीन वर्षदेखि जारी विवादका कारण संस्था दुई पक्षमा विभाजित भएको र समाधानको सम्भावना कमजोर बन्दै गएको उनको भनाइ छ।

हाल रासबिसमा एक पक्षको नेतृत्व अभय राजबंशीले तथा अर्को पक्षको नेतृत्व सुबन्त राजबंशीले गरिरहेका छन्। विवादका बीच समाजका बौद्धिक व्यक्तित्व तथा अग्रजहरूले संवाद, सहमति र साझा महाधिवेशनमार्फत संस्थालाई पुनः एकताबद्ध बनाउन आग्रह गर्दै आएका छन्।
संजय राजबंशीको राजीनामापछि समाजभित्र विवादबारे विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। समाजका अग्रजहरूले एकता र सहकार्यको वातावरण निर्माण गर्न नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।