असार, १०।कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिका–२ दलेली सडकखण्डबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब १३ लाख ७० हजार रुपैयाँ बराबरका खाद्यान्न तथा उपभोग्य सामग्रीसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ।
बुधबार बिहान करिब ११ः३० बजे दक्षिण रंगेली बजारबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ४४४४ नम्बरको सेतो मिनी ट्रकलाई विशेष चेकजाँचका क्रममा रमाइलो प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। घटनामा संलग्न ट्रक चालक सूर्यप्रसाद ओलीलाई समेत प्रहरीले नियन्त्रणमा राखेको छ।
प्रहरीका अनुसार मिनी ट्रकमा लोड गरिएको सामान तथा सवारी साधन रंगेली नगरपालिका–७ निवासी ३२ वर्षीय सौरभ राजगडियाको रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त सामग्री रमाइलो, केरौन, होक्लाबारी, दलेली, बयरवन लगायतका क्षेत्रमा भन्सार छली गरी बिक्री–वितरण हुँदै आएको तथ्य खुलेको प्रहरीले जनाएको छ।

ट्रकबाट खानेतेल, चामल, दाल, चिउरा, भुजिया, सुजी, आटा, चिनी, साबुन, अगरबत्ती, चुरोट, चिया, सोयाबिन, कालो दाल, चाउचाउ, दूध पाउडर, लिची जुस तथा प्लास्टिकका गिलास र थाललगायत विभिन्न उपभोग्य सामग्री बरामद गरिएको छ।
बरामद सामानको अनुमानित मूल्य ३ लाख ७० हजार रुपैयाँ रहेको छ भने मिनी ट्रकको मूल्य करिब १० लाख रुपैयाँ आँकलन गरिएको प्रहरीले जनाएको छ। यससँगै बरामद सामान र सवारी साधनको कुल मूल्य १३ लाख ७० हजार रुपैयाँ पुगेको छ।
बरामद सामान, सवारी साधन तथा चालकलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।