असार।१३
कानेपेखरी ।विद्यानन्द चौधरी

मोरङ जिल्लाको दक्षिणी भेगमा अवस्थित धनपालथान गाउँपालिले पछिल्ला वर्षहरूमा युवाको क्षमता विकास, रोजगारी सिर्जना र सरकारी सेवामा पहुँच विस्तार गर्ने अभियानमा सक्रिय रूपमा अघि बढाएको छ । लोकसेवा तयारी कक्षादेखि निःशुल्क सीपमूलक तालिमसम्मका कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकाले युवाहरूलाई अवसरसँग जोड्ने प्रयासलाई प्राथमिकता दिएको हो।
साविकका नोचा,कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर वि.सं. २०७३ सालमा धनपालथान गाउँपालिका गठन भएको हो । यसमा सातवटा वडा समेटिएका छन् । कृषि उत्पादन, धार्मिक सम्पदा र सांस्कृतिक विविधताका लागि यो गाउँपालिका परिचित छ। गाउँपालिकाको नाम ऐतिहासिक राजा धनपालथान मन्दिरबाट राखिएको हो, जसले यस क्षेत्रको ऐतिहासिक पहिचानलाई समेत उजागर गर्दछ।

गाउँपालिकाले पछिल्लो सयम युवालाई रोजगारीमा जोड्न लोकसेवा तयारी कक्षा चलाइ रहेको छ । यसमा युवाको आकर्षण बढ्दै गएको पाइन्छ ।सरकारी सेवामा प्रवेश गर्ने सपना बोकेका युवाहरूका लागि गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क लोकसेवा तयारी कक्षामा उत्साहजनक सहभागिता देखिएको छ। प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन आवश्यक सामान्य ज्ञान, संविधान, प्रशासन, समसामयिक विषय, गणित, तर्कशक्ति तथा भाषासम्बन्धी विषयमा नियमित अध्यापन भइरहेको छ।
धनपालथान गाउँपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमहरू प्रभावकारी बन्दै गएको जनाइएको छ। गाउँपालिका उपाध्यक्ष नसिमा बानोका अनुसार युवालाई लक्षित गरी सञ्चालन गरिएका तालिमबाट धेरै युवाले स्वरोजगारको बाटो समातेका । उनले भनिन्,‘‘गाउँपालकिाले युवाहरुलाई सरकारी सेवामा प्रवेग गराउन र रोजगारीका अवसर सिर्जना गर्न तयारी कक्षा संचालन गरेको हो ।’’ उनका अनुसार कतिपय युवाले सीपमुलक तालिम लिएर वैदेशिक रोजगारीमा समेत गइसकेका छन्।

उपाध्यक्ष बानोले पहिलो चरणका तालिम सफल भएकाले दोस्रो चरणमा पनि तालिम सञ्चालन गरिने जानकारी दिँदै तालिमपछि समूह गठन गरेर व्यवसाय सञ्चालन गर्न चाहनेलाई गाउँपालिकाले आर्थिक सहयोगसमेत उपलब्ध गराउने योजना रहेको बताइन्।
यसैगरी वडा नं. ३ ले हालै साबुन तथा फिनेल बनाउने सीपमूलक तालिम सम्पन्न गरेको छ भने वडा नं. ४ ले कुलत तथा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि युवालक्षित कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

स्थानीय तहले सञ्चालन गरेका यस्ता सीपमूलक तथा जनचेतनामूलक कार्यक्रमबाट युवाहरू लाभान्वित भएका छन्। तालिमपछि कतिपयले आफ्नै व्यवसाय सुरु गरी आम्दानी गर्न थालेका छन् भने केहीले रोजगारीसमेत प्राप्त गरेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कक्षामा सहभागी युवाहरूले यस्तो कार्यक्रमले आफ्नो आत्मविश्वास बढाएको, अध्ययन गर्ने वातावरण सिर्जना गरेको तथा आर्थिक भारसमेत कम भएको बताएका छन्। विशेषगरी आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली युवाका लागि यो कार्यक्रम प्रभावकारी बनेको उनीहरूको अनुभव छ।

गाउँपालिकाका जनप्रतिनिधिहरूका अनुसार युवालाई रोजगारी र अवसरसँग जोड्ने उद्देश्यले लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो। नियमित अध्ययन, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकासमा यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याइरहेको विश्वास गरिएको छ।
सीप सिकेर स्वरोजगारतर्फ
लोकसेवा तयारीसँगै गाउँपालिकाले बेरोजगार युवायुवतीलाई लक्षित गर्दै निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको छ। गाउँपालिकाको समन्वय तथा पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालिको आयोजनामा सञ्चालन हुने तालिम आर्थिक सहयोग कार्यक्रमअन्तर्गत दोस्रो समूहका लागि ल्याइएको हो।

तालिमअन्तर्गत सिलाइ तथा बुटिक, हाउस प्लम्बर तथा सेनेटरी फिक्सर, इलेक्ट्रिसियन तथा मोबाइल मर्मत तथा सौर्य तथा इनभर्टर जडानजस्ता व्यावसायिक विषय समेटिएका छन्। सिलाइ तथा बुटिक, हाउस प्लम्बर तथा सेनेटरी फिक्सर र इलेक्ट्रिसियन तथा मोबाइल मर्मत तालिम चार महिनाको हुनेछ भने सौर्य तथा इनभर्टर जडान तालिम पाँच महिनासम्म सञ्चालन हुनेछ।

१५ देखि ४० वर्ष उमेर समूहका युवायुवतीले तालिममा आवेदन दिन सक्नेछन्। सिलाइ तथा बुटिक र प्लम्बर तालिमका लागि सामान्य लेखपढ भए पुग्ने व्यवस्था गरिएको छ भने इलेक्ट्रिसियन, मोबाइल मर्मत तथा सौर्य–इनभर्टर जडान तालिमका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ।
गाउँपालिकाका अनुसार सम्पूर्ण तालिम निःशुल्क हुनेछ। सहभागीका लागि खाना तथा बस्ने व्यवस्था निःशुल्क गरिनुका साथै प्रत्येक महिना एक हजार रुपैयाँ भत्ता उपलब्ध गराइनेछ। साथै, आउजाउका लागि एक पटकको बसभाडा पनि प्रदान गरिने व्यवस्था गरिएको छ।
युवामैत्री अभियान
धनपालथान गाउँपालिकाले शिक्षा, सीप र रोजगारीलाई एउटै सूत्रमा जोडेर युवालाई सक्षम बनाउने नीति अवलम्बन गरेको देखिन्छ। एकातर्फ लोकसेवा तयारीमार्फत सरकारी सेवामा प्रवेश गर्ने आधार तयार भइरहेको छ भने अर्कोतर्फ सीपमूलक तालिममार्फत स्वरोजगार र वैदेशिक रोजगारीका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रयास भइरहेको छ।

युवाहरूको सक्रिय सहभागिताले धनपालथानमा अध्ययन, सीप विकास र अवसरको नयाँ वातावरण सिर्जना गरेको छ। यस्ता कार्यक्रमले आगामी दिनमा दक्ष, आत्मनिर्भर र सक्षम युवा उत्पादन गर्दै गाउँपालिकाको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्य राखिएको छ ।