असार १७ ।कानेपोखरी,

मोरङको कानेपोखरी गाउँपालिका–२ थारु चोकदेखी २०० मिटर उतर लागूऔषध (गाँजा) कारोबारमा संलग्न रहेको आरोपमा दुई दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ।
रमाइलो प्रहरी चौकीको टोलीले मंगलबार साँझ करिब ७:३० बजे ४० वर्षीया सोमती कुमारी चौधरी जानकी नामले चिनिने र ३२ वर्षीया रुपमनी चौधरीलाई आफ्नै घरबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरू लामो समयदेखि घरमै बसेर गाँजाको कारोबार गर्दै आएका थिए।
प्रहरीले उनीहरूको घरको पछाडि निर्माणाधीन भवनमा लुकाइराखिएको अवस्थामा प्लास्टिकमा प्याक गरिएको ७९ वटा गाँजाका पोका तथा प्याक गर्न बाँकी दुई वटा चाक्लासहित करिब साढे ३ केजी गाँजा बरामद गरेको जनाएको छ।
अनुसन्धानका क्रममा बरामद गाँजाको एक पोका २०० रुपैयाँमा बिक्री हुने गरेको खुलेको छ। उनीहरूले गाँजा मुख्यतः रंगेलीतर्फ पठाउने तथा केही स्थानीय क्षेत्रमा समेत बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

रमाइलो प्रहरी चौकीका सई सदानन्द कुमार यादवका अनुसार पक्राउ परेका दिदीबहिनी करिब पाँच वर्षदेखि लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंका छ। प्रहरीले उनीहरूको खोजी दुई वर्षअघिदेखि गर्दै आएको र पक्राउ गर्न सकेका थिएन ।
प्रहरीका अनुसार दिदीबहिनीले घर अगाडि चटपटे, किराना पसल र फ्रेस हाउस सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायको आडमा गाँजाको बिक्री–वितरण भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि मंगलबार राति नै इलाका प्रहरी कार्यालय पथरी पठाइएको प्रहरीले जनाएको छ।