संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।
संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइडमा काम गरेर फर्किने क्रममा अनियन्त्रित भएर एचपी ११–४९३३ नम्बरको टिपर दुर्घटनामा परेको जानकारी दिए ।
बस्नेतका अनुसार टिपर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेर अरुण तेस्रोका मजदुर भारतीयकाे मृत्यु भएको हो । घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन् ।
दुर्घटनामा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार भारतीय नागरिक २९ वर्षीय सारुक महमदको मृत्यु भएको डीएसपी बस्नेतले बताए । उनका अनुसार दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पताल खाँदबारीमा बिहीबार बिहानका राति करिब पौने ४ बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा परेर भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएका छन् । गम्भीर अवस्थाका पासवानलाई खाँदबारी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।
घाइतेमध्ये पालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हुन् । डीएसपी बस्नेतका अनुसार भिरालो ठाउँमा दुर्घटना भएका कारण उद्धारमा निक्कै बेर समय लागेको थियो । कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।