पथरी शनिश्चरे समाचारदाता,
फागुन -२ गते
पथरी शनिश्चरे नगरपालिकामा संघीयता कार्यान्वयन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको हो । सो कार्यक्रमका विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश काफ्लेले प्रष्ट पार्दै आफ्ना प्रस्तुति राख्नुभएको थियो ।
प्रस्तुतिका क्रममा काफ्लेले अन्तर सरकार सम्बन्धका कानूनी व्यवस्था, संघीयता कार्यान्वयनमा हालसम्मका उपलब्धी, मन्त्रालयले खेलेको भूमिका, स्थानीय तहमा देखिएका चुनौती तथा समस्या, स्थानीय तहको सुधार क्षेत्र, संघीयता कार्यान्वयनमा मन्त्रालयको भावी कार्यदिशा लगायतका विषयमा आफ्ना प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । यसैगरी सहजीकरण कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्षहरु भीम राई, जीवन खतिवडा, नविन कार्की, चेतेन्द्र खड्का, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, नगरका लेखा शाखा प्रमुख पिताम्बर वस्ती, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकालले समस्या र जिज्ञासाहरु राख्नुभएको थियो ।
सो प्रश्नहरुको विषयमा उपसचिव प्रकाश दाहालले प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा उपसचिव जनकराज शर्मा, उपसचिव तुलसी भट्टराई, नगर उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्ष वीरबहादुर राई र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।