जेष्ठ ,२२। शुक्रबार
रबिन्द्र बराल

मोरङको सुनवर्षी नगरपालिका–५ स्थित गुलेश्वरी प्राथमिक विद्यालयमा लुम्बिनी विकास बैंक लिमिटेडले रंगेली द्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेको छ। रङ्गेली ७ मा रहेको बैंकको शाखाद्वारा एक कार्यक्रममा विद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको छ।
बैंकका अध्यक्ष दुर्गेश रौनियारले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई सहज बनाउने उद्देश्यले करिब ४५ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको छ । कार्यक्रममा बोल्दै सुनवर्षीका शिक्षा अधिकृत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताए। उनले लुम्बिनी विकास बैंकले उपलब्ध गराएको सामग्रीले विद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। शिक्षा क्षेत्रमा गरिएको यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम अनुकरणीय रहेको उल्लेख गर्दै उनले अन्य संघसंस्था तथा निजी क्षेत्रलाई समेत विद्यालयहरूको आवश्यकता अनुसार सहयोग गर्न आग्रह गरे।
त्यसैगरी इन्जिनियर कमलेश्वर ठाकुरले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षण वातावरण निर्माणका लागि कम्प्युटर तथा प्रिन्टरजस्ता सामग्री आवश्यक हुने बताए। वडा अध्यक्ष योगेश्वर ठाकुरले विद्यालयको आवश्यकता पहिचान गरी प्रदान गरिएको सहयोगले विद्यालयलाई ठूलो राहत पुगेको बताउँदै सामुदायिक विद्यालयको विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र तथा समुदायबीचको सहकार्य आवश्यक रहेको धारणा राखे।विद्यालयका प्रधानाध्यापक प्रदीप यादवले विद्यालयमा कम्प्युटर तथा प्रिन्टरको अभाव रहेको अवस्थामा प्राप्त सहयोगले दैनिक प्रशासनिक तथा शैक्षिक कार्य सञ्चालनमा सहजता ल्याउने बताए।


विगतमा विभिन्न शैक्षिक तथा प्रशासनिक कामका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले अब विद्यालयमै धेरै कार्य सम्पादन गर्न सकिने बताए। उनले विद्यालयको आवश्यकता बुझेर सहयोग गरेकोमा लुम्बिनी विकास बैंकप्रति आभार व्यक्त गरे कार्यक्रममा शाखा प्रमुख दुर्गेश रोनियार, कर्मचारी सन्तोष मेहता र छविलाल पोखरेलले , विद्यालयका शिक्षक प्रधानाध्यापक समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो।विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।


विद्यालय व्यवस्थापन समितिले समेत प्राप्त सामग्रीले विद्यालयको सेवा प्रवाह र शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरेको थियो। साेहि क्रममा बिधालयकाे तर्फबाट बैकका प्रमुख दुर्गेस राेहनियार लाई सम्मान पत्र सहित सम्मान समेत गरिएको थियोे ।