असार ११ बिहीबार
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिकाले १४ औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यबाहक नगर प्रमुखसमेत रहनुभएकी नगरसभा अध्यक्ष भूमा पराजुलीले वडा नम्बर ९ का वडाध्यक्ष चुडामणी रेग्मीलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो ।
निवर्तमान नगर प्रमुख दिलिप बगडियाको विशेष आतिथ्यतामा सम्पन्न नगरसभामा वडाध्यक्ष रेग्मीले ८१ करोड ३३ लाख ४८ हजाररुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको हो । वडाध्यक्ष रेग्मीले कुल विनियोजित बजेट मध्ये चालुमा ६७ प्रतिशत र पूँजीगततर्फ ३३ प्रतिशत रहेको जानकारी दिनुभयो । नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि सर्वसम्मत पारित भएको छ ।

छलफलपछि सभाध्यक्ष पराजुलीले आर्थिक वर्ष २०८३/०८४ को नीति कर्यक्रम तथा बजेट पारित भएको घोषणा गर्नुभयो । नगरसभाको अवसरमा सेवा निवृत्त शिक्षक/शिक्षिकालाईसम्मान समेत गरिएको थियो । रंगेली नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रदिप साहले बजेटले सवैभन्दा बढी पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्रथामिकता राखेको बताउनुभयो । चालु आर्थिक वर्षका लागि गत वर्ष ८३ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो ।