मेनु

कानेपोखरीमा ‘प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता’ हुँदै ।थारू पाेर्टल

कानेपोखरीमा ‘प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता’ हुँदै ।थारू पाेर्टल

भदौ,२१, कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिकामा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।

मोरङ सीएचआईटीएफ तेक्वान्दो संघको आयोजनामा, कोशी सीएचआईटीएफ तेक्वान्दो संघको प्राविधिक सहयोग तथा कानेपोखरी गाउँपालिका वडा नं. ६ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।

आगामी कार्तिक १३ र १४ गते दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका तीन जिल्लाका खेलाडीहरूको सहभागिता रहने कोशी प्रदेश सीएचआईटीएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले जानकारी दिए।

प्रतियोगितामा स्प्यारिङतर्फ पुरुषका ११० जना र महिलातर्फ १०५ जना खेलाडी सहभागी हुनेछन्। त्यस्तै प्रतियोगितामा १५ जना अफिसियल तथा ५ जना निर्णायक रहने आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरिनेछ। साथै प्रथम, द्वितीय र तृतीय हुने डोजाङलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने मोरङ सीएचआईटीएफ तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीले बताए।

प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष भुजेलले जानकारी दिए।कोशी प्रदेशका विभिन्न पालिकामा सञ्चालित डोजाङमा आबद्ध खेलाडीहरूले यसअघि काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगिता, नवलपरासी तथा बागलुङमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी हुँदै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी पदक जित्दै आएका छन्।

कोशी प्रदेश सीएचआईटीएफ तेक्वान्दो संघले हालसम्म वान डानदेखि थ्री डानसम्मका २५ जना खेलाडी उत्पादन गरिसकेको जनाएको छ। संघले प्रदेशका विभिन्न पालिकामा डोजाङ सञ्चालन गर्दै तेक्वान्दो खेलको विकास र खेलाडी उत्पादनमा सक्रिय भूमिका खेल्दै आएको छ।

यसअघि संघले पालिका स्तरीय, जिल्ला स्तरीय, प्रदेश स्तरीय तथा १०औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ। आगामी वडा अध्यक्ष कप प्रतियोगिताले कानेपोखरीसहित कोशी प्रदेशमा तेक्वान्दो खेलको विकास तथा नयाँ खेलाडी उत्पादनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।