रसुवा, ८ कात्तिक।

रसुवाको स्याफ्रुबेँसीमा सवारीसाधन आवतजावत सहज बनाउन बेलिब्रिज निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा पुल निर्माणलाई गति दिइएको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि सो स्थानमा नयाँ बेलिब्रिज निर्माण गर्न लागिएको हो। पुल जडानका लागि आवश्यक जग निर्माण सुरु भइसकेको छ।बेलिब्रिज निर्माण आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यसहित चौबिसै घण्टा काम भइरहेको जनाइएको छ। यसबाट अवरुद्ध सडक सम्पर्क पुनःस्थापित हुनुका साथै स्थानीय बासिन्दा र यात्रुलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले शनिबार स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका निर्माण कार्यको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ।

बाढीका कारण आवतजावतमा समस्या भएको स्याफ्रुबेँसी–बृद्धिम जोड्ने फड्के पुल निर्माण कार्यसमेत अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालयले आवश्यक फलामे लट्ठा तथा स्टिल केबललगायत सामग्री उपलब्ध गराएपछि पुल निर्माणलाई तीव्रता दिइएको हो।
बेलिब्रिज र फड्के पुल निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको आवतजावत सहज हुनुका साथै स्थानीय जनजीवन र यातायात सेवा सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।