मेनु

सद्भाव बचतद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग ।थारू पाेर्टल

सद्भाव बचतद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग ।थारू पाेर्टल

रङ्गेली, ३१, भदौ ।

 

आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विपन्न परिवारका बालबालिकालाई सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरेको छ।

रङ्गेली नगरपालिका–७ मा रहेको सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत दुई विद्यालयका पाँच जना विद्यार्थीलाई जनही करिब ३ हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री तथा पोशाक सहयोग गरेको हो।

सहकारीले सुनवर्षी नगरपालिका–१ चपमारीस्थित रत्न आधारभूत विद्यालयमा अध्ययनरत कृष्णबहादुर बिक र राजेश पासवान तथा रङ्गेली नगरपालिका–९ दोहमनास्थित श्री वीरेन्द्र आधारभूत विद्यालयका सिवानी पासवान, जमुना टुडु र विक्रम हाँस्दालाई सहयोग उपलब्ध गराएको जनाएको छ।

प्रत्येक विद्यार्थीलाई एक सेट विद्यालय पोशाक, एक थान ब्याग, एक जोडी जुत्ता, १० थान कापी, एक प्याकेट कलम, दुई थान पेन्सिल, एक थान इरेजर र एक थान कटर प्रदान गरिएको थियो।

 

सहकारीका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरले आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बताउनुभयो। विद्यार्थीको नियमित उपस्थिति र शैक्षिक प्रगति हेरेर आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।

श्री वीरेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक हरिचन्द्र अधिकारीले आर्थिक समस्याका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन नसक्ने विद्यार्थीका लागि यस्तो सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर कार्कीले विपन्न विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको अध्ययनमा प्रत्यक्ष राहत पुग्नुका साथै पढाइप्रति उत्साह बढाउने बताउनुभयो।

रङ्गेली–९ का वडा अध्यक्ष चुडामणि रेग्मीले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा सहकारी तथा निजी क्षेत्रले देखाएको चासो सकारात्मक रहेको बताउनुभयो। शिक्षा विद्यालयको मात्र नभई समुदाय र सामाजिक संस्थाको समेत साझा दायित्व भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो।

त्यस्तै, सुनवर्षी–१ का वडा अध्यक्ष वीरेन्द्र राईले सहयोगले विपन्न विद्यार्थीको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्थानीय तह, विद्यालय, सहकारी तथा सामाजिक संस्थाबीच सहकार्य बढाउन सके आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट बाहिरिने अवस्था न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो।

गान्धी आश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक सुभाष दुलालले सहकारी संस्थाहरूले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

सहयोग वितरण कार्यक्रममा सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुर, सचिव राजदेव श्रीप्रसाद ठाकुर, रङ्गेली–९ का वडा अध्यक्ष चुडामणि रेग्मी, सुनवर्षी–१ का वडा अध्यक्ष वीरेन्द्र राई, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सहकारीले आर्थिक विपन्नताकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विगतदेखि नै यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।