विराटनगर, असोज १ ।

विराट मेडिकल कलेजअन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एकै मञ्चमा ल्याउने उद्देश्यले ‘एचपीईडी–कन २०२६’ आयोजना गर्ने भएको छ।
एचपीईडी विभाग स्थापना भएको १०औँ वार्षिकोत्सवका अवसरमा बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल परिसरमा असोज १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो। ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, फिलिपिन्स र बेलायतलगायतका देशका ३०० भन्दा बढी स्वास्थ्य शिक्षाविद्, विशेषज्ञ तथा प्रशिक्षक सहभागी हुने जनाइएको छ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराट मेडिकल कलेजको एचपीईडी विभागका अध्यक्ष तथा सम्मेलनका अध्यक्ष प्राडा हेमसागर रिमालले स्वास्थ्य व्यवसाय शिक्षामा देखिएका चुनौती, सुधारका सम्भावना तथा विश्वव्यापी अभ्यासबारे सम्मेलनमा गहन छलफल गरिने जानकारी दिए।
सम्मेलनमा अनुसन्धानमूलक प्रस्तुति, अन्तरक्रिया, अनुभव आदानप्रदान तथा परामर्श सत्र सञ्चालन हुनेछन्। मेडिकल चिकित्सक, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ विज्ञ, स्वास्थ्य क्षेत्रका शिक्षक तथा विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकको सहभागिता रहने आयोजकले जनाएको छ।

स्वास्थ्य शिक्षा प्रणालीलाई समयानुकूल बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डसँग मेल गराउने विषय सम्मेलनको प्रमुख केन्द्रमा रहनेछ। दक्षतामा आधारित चिकित्सा शिक्षा, गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा, नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रम सुधारलगायत विषयमा विशेष सत्र सञ्चालन गरिनेछ।
स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवालाले भोगिरहेका चुनौती तथा समस्याको समाधान, नयाँ प्रविधिको प्रयोग र दक्षतामा आधारित चिकित्सा शिक्षाको कार्यान्वयन, चुनौती तथा प्रभावबारे समेत सम्मेलनमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ।
सम्मेलनबाट नेपालमा स्वास्थ्य व्यवसाय शिक्षा तथा स्वास्थ्य सेवा प्रणाली सुधारका लागि व्यवहारिक सुझाव प्राप्त हुनुका साथै नयाँ सहकार्यका सम्भावना विकास हुने आयोजकको विश्वास छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।