मेनु

यूके एफसीद्वारा आयोजक पथरी–११ सडेन डेथमा पराजित, सेमिफाइनलमा प्रवेश ।थारू पाेर्टल

यूके एफसीद्वारा आयोजक पथरी–११ सडेन डेथमा पराजित, सेमिफाइनलमा प्रवेश ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता,

असाेज-१७ गते

अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा भारतको यूके एफसीले आयोजक पथरी–११ फुटबल क्लबलाई सडेन डेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार पथरी रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि दुवै टोलीको गोल बराबरी भएपछि सडेन डेथबाट खेलको निर्णय गरिएको थियो। सडेन डेथमा यूके एफसीले पथरी–११ लाई ८–७ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित समयभर दुवै टोलीले आक्रामक र प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए।

गोलका केही राम्रा अवसर सिर्जना भए पनि दुवै टोलीका खेलाडीले त्यसलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका यूके एफसीका गोलरक्षक जर्सी नम्बर १८ का सचिन गुरुङ म्यान अफ द म्याच घोषित भए। उनले नगद ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे। पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख तुम्बापोले गोल्डकप पथरी शनिश्चरेको पहिचान र गौरवसँग जोडिएको प्रतियोगिता भएको बताए। उनले प्रतियोगितालाई सभ्य, भव्य र अनुशासित रूपमा सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त, पथरी शनिश्चरे–२ का वडा अध्यक्ष नैना साम्पाङ राई, वडा सदस्य चन्द्रकुमार राई, नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीनखुलाल बुढाथोकी तथा विभिन्न संघसंस्थाका प्रमुख लगायतकाे उपस्थिति रहेकाे थियाे। वर्षा तथा प्रतिकूल मौसमका बाबजुद खेल हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। यसैबीच, प्रतियोगिताअन्तर्गत भोलि डिफेन्डिङ च्याम्पियन सिराहाको सहलेश फुटबल क्लब र काठमाडौंको न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुने आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।