पथरी शनिश्चरे समाचारदाता,
असाेज-१९ गते

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपअन्तर्गत सोमबार भएको खेलमा झापा–११ ले ललितपुरको थ्री स्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो। टाइब्रेकरमा झापा–११ ले ४–३ गोल अन्तरले थ्री स्टारलाई हरायो।
खेलको ३२औँ मिनेटमा प्रताप चाम्लिङ राईले गोल गर्दै झापा–११ लाई सुरुआती अग्रता दिलाए। ५७औँ मिनेटमा मिलन चाम्लिङ राईले थ्री स्टारका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। त्यसको छ मिनेटपछि ६३औँ मिनेटमा क्रिसल थापाले गोल गरेपछि थ्री स्टारले २–१ को अग्रता बनायो। तर, झापा–११ ले खेलमा पुनरागमन गर्दै ७६औँ मिनेटमा रोमन भुजेलको गोलमार्फत खेललाई २–२ को बराबरीमा ल्यायो। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा झापा–११ का रोमन भुजेल, प्रशान्त लक्सम, प्रदीप बुढाथोकी र निखिल तामाङले गोल गरे। थ्री स्टारका सागर तिवारी, दोर्जे तामाङ र दिवस उराउले गोल गरे पनि सुजन चौधरी र लेकन राईको प्रहार झापा–११ का गोलकिपर योगेश धिमालले रोके। निर्णायक दुई प्रहार बचाउँदै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका झापा–११ का गोलकिपर योगेश धिमाल खेलको म्यान अफ द म्याच घोषित भए। कठिन जितसँगै सेमिफाइनल पुगेको झापा–११ ले फाइनल प्रवेशका लागि बुधबार भारतको युकेएफसीसँग प्रतिस्पर्धा गर्नेछ। झापा–११ का व्यवस्थापक गोपाल राईले कठिन जित निकाले पनि टोलीको लक्ष्य फाइनल प्रवेश रहेको बताए। गोल्डकपअन्तर्गत मंगलबार नेपाल पुलिस क्लब र रेडहर्स इलामबीच प्रतिस्पर्धा हुनेछ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।