पथरी शनिश्चरे।असाेज।२३।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित पञ्चायत माध्यमिक विद्यालयले निवर्तमान प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीलाई सम्मानसहित विदाइ गरेको छ। विद्यालयले शुक्रबार आयोजना गरेको विदाइ तथा सम्मान कार्यक्रममा बुढाथोकीको शैक्षिक सेवा, नेतृत्व र संस्थागत योगदानको चर्चा गर्दै सम्मान गरिएको हो। पथरी शनिश्चरे समाचारदाता, असाेज-९ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा संविधानसभा सदस्य तथा विद्यालयका पूर्वप्रधानाध्यापक चण्डीप्रसाद राई, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल, वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईलगायतको उपस्थिति रहेको थियो। बुढाथोकीले लामो समय शिक्षण पेसामा रहेर विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व गरेका थिए। उनले २०८३ असोज १६ गतेसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए। शिक्षण तथा विद्यालय व्यवस्थापनका अतिरिक्त उनी नेपाल शिक्षक महासंघको नगर समितिको अध्यक्षलगायत विभिन्न शैक्षिक तथा सामाजिक संस्थामा समेत आबद्ध रहेका थिए। कार्यक्रममा माध्यमिक तहका शिक्षक उपेन्द्र बस्नेतले बुढाथोकीको जीवनी, शैक्षिक यात्रा र योगदानबारे चर्चा गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका सदस्य भुपेन्द्र तिम्सिनाले सम्मानपत्र वाचन गरेका थिए भने प्रमुख अतिथि तुम्वापोले सम्मानपत्र प्रदान गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईले मायाको चिनो प्रदान गरेका थिए। प्रधानाध्यापक टीकाप्रसाद घिमिरेले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा शिक्षक तथा कर्मचारीका तर्फबाट समेत उपहार प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा सल्लाहकार, वर्तमान व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक मोहन शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा निवर्तमान व्यवस्थापन समिति अध्यक्ष तथा सल्लाहकार प्रमुख यज्ञप्रसाद बाँस्कोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन प्रधानाध्यापक टीकाप्रसाद घिमिरेले गरेका थिए।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।