मेनु

सुनझोडा डोजाङ बन्यो जिल्लास्तरीय प्रथम वडाध्यक्ष कप–२०८३ को च्याम्पियन ।थारू पाेर्टल

सुनझोडा डोजाङ बन्यो जिल्लास्तरीय प्रथम वडाध्यक्ष कप–२०८३ को च्याम्पियन ।थारू पाेर्टल

१४ स्वर्ण पदक जित्दै सुनझोडा डोजाङ च्याम्पियन, सिरुझार प्रथम रनरअप र दलेली दोस्रो रनरअप .

कानेपोखरी, कार्तिक १४।

मोरङको कानेपोखरी गाउँपालिका–६ मा आयोजित जिल्लास्तरीय प्रथम वडाध्यक्ष कप–२०८३ सी.एच.आई.टी.एफ. तेक्वान्दो प्रतियोगिताको उपाधि सुनझोडा डोजाङ, उर्लाबारीले जितेको छ।

मोरङ जिल्ला सी.एच.आई.टी.एफ. तेक्वान्दो संघको आयोजना तथा कानेपोखरी गाउँपालिका–६ को सहयोगमा जनसेवा माध्यमिक विद्यालयमा कार्तिक १३ र १४ गते सञ्चालन भएको प्रतियोगितामा सुनझोडा डोजाङले १४ स्वर्ण पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो।प्रतियोगितामा ६ स्वर्ण पदक प्राप्त गर्दै सिरुझार डोजाङ प्रथम रनरअप बनेको छ भने ४ स्वर्ण पदकसहित दलेली डोजाङ, कानेपोखरी दोस्रो रनरअप भएको छ।

प्रतियोगितामा महिलातर्फ रमाइलो डोजाङकी प्रमिला भुजेल र पुरुषतर्फ सुजल भुजेल उत्कृष्ट खेलाडी घोषित भएका छन्।विजेता डोजाङहरूलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले यस्ता प्रतियोगिताले स्थानीयस्तरमा तेक्वान्दो खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

मोरङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सी.एच.आई.टी.एफ. तेक्वान्दो संघकी केन्द्रीय उपाध्यक्ष तथा मुख्य निर्णायक आशमा श्रेष्ठ, कोशी प्रदेश सी.एच.आई.टी.एफ. तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल, प्रदेश सचिव दिनेश सुब्बालगायत प्रदेशका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, वडा सदस्यहरू राजकुमार लिम्बू,  दुर्गा नेपाली शुसीला श्रेष्ठ, लगायतको पनि सहभागिता थियो। कार्यक्रममा खेल प्रदर्शनका साथै जेनिथ स्कुलका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।कार्यक्रम सञ्चालन कोशी प्रदेश समितिका सदस्य सनम रोक्काले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।