मेनु

अरूको घर उज्यालो पार्ने कुमालेकै जीवन अँध्यारोमा ।थारू पाेर्टल

अरूको घर उज्यालो पार्ने कुमालेकै जीवन अँध्यारोमा ।थारू पाेर्टल

कार्तिक १४ आइतबार

 

 

हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा तराईका कुमाले समुदायलाई माटाेका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ। तिहारको लक्ष्मीपूजा तथा लगत्तै आउने छठ पर्वका लागि आवश्यक दियो, घैँला, कलश, पाला, ढकना लगायतका सामग्री बनाउन उनीहरू अहिले बालबालिका देखि घरका सम्पुर्ण सदस्यहरु  दिनरात खटिन थालेका छन्।

तिहारमा घरघरमा माटाेका दियो बालेर धनकी देवी लक्ष्मीको स्वागत गरिन्छ। तर विडम्बना, अरूको घर उज्यालो बनाउन दिनरात माटोसँग संघर्ष गर्ने कुमाले परिवारकै घरमा भने आर्थिक अभावको अँध्यारो छ। पुस्तौँदेखि माटाेका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरू अहिले आफ्नो पुर्ख्यौली पेसा जोगाउनै मुस्किल पर्ने अवस्थामा पुगेकाे छ । आधुनिक विद्युतीय बत्तीको चमकले बजार ओगट्दै गर्दा माटाेका दियो बनाउने हातहरू विस्तारै ओझेलमा पर्नेथालेकाे छ ।

यो केवल एउटा पेसा संकटमा परेको विषय होइन, हाम्रो मौलिक कला, संस्कृति, परम्परा र पुर्खाले हस्तान्तरण गरेको सीप हराउँदै जान लागेको संकेत  पनि देखिन्छ । तिहारमा माटाेका दियो बालेर संस्कृति जोगाउने हामीले ती दियो बनाउने कुमालेहरूको भविष्य जोगाउन कति प्रयास गरेका छौँ भन्ने आत्मासाथ गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारको सहयोग, उचित बजार र नयाँ पुस्ताको आकर्षणबिना यो पेसा कति समय टिक्ला?  तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्दा माटाको दियो बाल्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले यस समयमा दियोको माग बढ्ने गर्दछ। यही मागलाई ध्यानमा राख्दै मोरङको रंगेली नगरपालिका५ स्थित आमगाछी र सुनवर्षी ९ स्थित कदमगाछी क्षेत्रमा बसोबास गर्ने पण्डित समुदायका कुमाले परिवार यतिबेला माटाका सामग्री उत्पादनमा जुटेका छन्। उक्त क्षेत्रमा करिब ५० देखि ६०  घरपरिवार हरुले  पुस्तौँदेखि यही पेसामा आश्रित रहँदै आएका छन्। कुमालेहरूले चिम्टाइलो माटोबाट दियो, घैँला, कोसिया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, दलिया लगायतका सामग्री तयार गर्दै आएका छन्।

परिवारका सबै सदस्य मिलेर माटो मुछ्ने, आकार दिने, सुकाउने र आगोमा पकाउने काममा व्यस्त देखिन्छन्। कुनै समय राम्रो आम्दानीको स्रोत बनेको यो पुर्ख्यौली पेसा पछिल्लो समय संकटमा पर्दै गएको स्थानीयको गुनासो छ। बजारमा विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढ्दै जानु, माटाका सामग्रीप्रति उपभोक्ताको आकर्षण घट्नु र उत्पादन लागत बढ्नुले व्यवसाय प्रभावित भएको स्थानीय वीरेन पण्डितले बताए ।

अनुसार २० वर्षअघि यही पेसाबाट परिवारको जीविकोपार्जन सहजै हुने गरेको थियो। तर अहिले बजारमा आधुनिक सामग्रीको प्रयोग बढेसँगै माटाका भाँडाको माग घट्दै गएको छ। स्थानीय सुरेन पण्डितका अनुसार १५ वर्षअघिसम्म यही पेसाबाट राम्रो आम्दानी हुने गरे पनि अहिले परिवारको खर्च धान्नसमेत कठिन हुन थालेको छ। पुर्खाले गर्दै आएको पेसा भएकाले निरन्तरता दिइरहे पनि मेहनतअनुसारको आम्दानी हुन नसकेको उनको भनाइ छ। माटाका सामग्री उत्पादन गर्न आवश्यक माटो, पराल र दाउरा खरिदमै ठूलो रकम खर्च हुने कुमालेहरू बताउँछन्। सामग्री तयार पार्न पनि उत्तिकै समय र मेहनत लाग्ने गरेको छ। सुरुमा माटोबाट भाँडाकुँडाको आकार दिएपछि दिनभरि घाममा सुकाउनुपर्छ। त्यसपछि २४ देखि ७२ घण्टासम्म आगोमा पकाएर मात्रै बिक्रीयोग्य बनाइने स्थानीय वीरेन्द्र पण्डितले बताए ।

यसरी तयार पारिएका सामग्री रंगेली, कर्सिया, दोहमाना र डाइनिया लगायतका बजारमा लगेर बिक्री गर्ने गरिएको छ। तिहारका बेला विशेषगरी दियो र घैँलाको माग बढी हुने गरेको उनीहरूको भनाइ छ। अहिले दियो प्रतिसय ६० रुपैयाँका दरले बिक्री गर्दै आएको कुमालेहरू बताउँछन्। तर उपभोक्ताले घरमै बनेको माटाको सामग्री भन्दै सस्तो मूल्य खोज्ने गरेकाले उचित मूल्य पाउन कठिन भएको उनीहरूको गुनासो छ। पुर्खौँदेखि गर्दै आएको पेसालाई जेनतेन धानिरहेका कुमाले समुदायलाई अहिले अर्को चिन्ताले पनि सताएको छ। नयाँ पुस्ताले माटाका भाँडा बनाउने पेसाप्रति रुचि देखाउन छाडेपछि पुस्तौँदेखिको सीप र कला नै लोप हुने अवस्थामा पुगेको उनीहरूको चिन्ता छ। गाउँका अधिकांश परिवारको जीविकोपार्जन यही पेसामा निर्भर रहेकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उनीहरू बताउँछन्।

यसैबीच, रंगेली नगरपालिकाले कुमाले समुदायको पेसालाई आधुनिक र सहज बनाउन सहयोग गरेको जनाएको छ। तत्कालीन मेयर भुमा पराजुलीको पहलमा भक्तपुरबाट माटाका भाँडा बनाउने विद्युतीय उपकरण ल्याएर केही  घरधुरीलाई उपलब्ध गराइएको थियो। साथै, माटोको अभाव हुन नदिन नगरपालिकाले सोही गाउँका अन्य परिवारका लागि ६ कठ्ठा जग्गासमेत खरिद गरेर उपलब्ध गराएको पराजुलीले बताएकी छन्।  तर सुनवर्षी नगरपालिकाको कदमगाछी क्षेत्रका कुमालेहरूले भने आफूहरूलाई स्थानीय सरकारबाट आवश्यक उपकरण तथा सहयोग उपलब्ध नभएको गुनासो गरेका छन्। आधुनिक प्रविधि र बजारको प्रतिस्पर्धाबीच पुस्तौँदेखि चल्दै आएको माटाका भाँडा बनाउने पेसा जोगाउन स्थानीय सरकारको थप सहयोग, उचित बजार व्यवस्थापन र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न आवश्यक देखिएको छ। अन्यथा, तिहारमा घरघरमा उज्यालो छर्ने माटाका दियो बनाउने कुमालेहरूकै पुर्ख्यौली पेसा भने विस्तारै अँध्यारोतर्फ धकेलिने जोखिम बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।