धरान ।
![]()
वन, भूमि तथा जैविक विविधताको संरक्षण, दिगो व्यवस्थापन र जीविकोपार्जनमा सुधार गर्ने उदेश्यले पूर्वी पहाडको पाँच जिल्लामा आदिबासी जनजाति समुदायलाई तालिम सञ्चालन हुनेभएको छ । नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समितिको आयोजना नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य तथा कृषि संगठन ९ँब्इ० को सहकार्यमा संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका ३४ वटा स्थानीय तहमा तालिम सञ्चालन हुनेभएको छ ।
तालिममा यस क्षेत्रमा रहेका वनस्पति, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, वनको वैज्ञानिक व्यवस्थापन, पुनःस्थापना र वन विनाश तथा क्षयीकरण न्यूनीकरण, भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापन, प्रदेश तथा स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह र संस्थागत क्षमता विकास, वनमा आधारित उद्यम, कृषि तथा पशुपालनमार्फत स्थानीय समुदायको आयआर्जन र रोजगारीका अवसर बढाउने लक्ष्य राखिएको परियोजनाको टोली प्रमुख हरि थलङले बताउनुभयो ।

सो बिषयमा सुक्रबार सुनसरी धरान स्थित प्रदेश वन निर्देशनालयमा पालिका स्तरीय क्षमता अभिबृद्धि तालिम बारे छलफल भएको थियो । आयोजनाका संयोजक बिक्रम अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश वन निर्देशक भरत बाबु श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन विधि, प्रकृया, समय–तालिका विषयमा छलफल भएको थियो । विश्व खाद्य तथा कृषि संगठन कोशी प्रदेश संयोजक प्रशान्त नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश अध्यक्ष तुलसी संग्रौला, साझेदारी वन उपभोक्ता महासंघका प्रदेश सचिव लालबहादुर बस्नेत, गैसस महासंघका कोषाध्यक्ष बिनोद विश्वकर्मा, आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, नेपाल आदिवासी जनजाति महासंघ, सुनसरी जिल्ला समन्वय परिषद्का अध्यक्ष सुरेन्द्र स्थापित लगायतको उपस्थिति रहेको थियो ।

नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय कोषाध्यक्ष मिङमा कामी शेर्पाले स्वागत गर्नु भएको कार्यक्रममा परियोजनाको टोली प्रमुख हरि थलङले बैठकको सहजीकरण र कार्यक्रम सम्बन्धी जानकारी प्रस्तुतीकरण गर्नुभएको थियो । सहभागीहरुले तालिममा सहभागी व्यक्तिको मात्र नभई संस्थागत क्षमता अभिबृद्धिमा विशेष ध्यान दिन, स्थानीय आदिवासी जनजाति परम्परागत ज्ञान, सीप र अभ्यासहरूको दस्तावेजीकरण र अभिलेखीकरण गर्नुपर्ने सुझाव पेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।