कानेपोखरी, १९ कात्तिक ।

मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित एक चिस्यान केन्द्रबाट १५ लाख ६० हजार रुपैयाँ बराबरको भारतीय सयपत्री फूलका माला बरामद गरिएको छ।

दमकका एक व्यापारीले स्थानीय एक व्यापारीलाई हेरचाहको जिम्मा दिँदै साना किसान कृषि सहकारी संस्थाको चिस्यान केन्द्रमा राखेको उक्त माला गोप्य सूचनाका आधारमा सुरक्षा निकायले छापा मारेर बरामद गरेको हो।सशस्त्र प्रहरी बलको दमकस्थित एसपी र नेपाल प्रहरी कोशी प्रदेशको टोलीले बुधबार चिस्यान केन्द्रमा छापा मार्दा १०४ बोरा माला फेला पारेको जनाइएको छ। प्रत्येक बोरामा १०० वटाका दरले राखिएका कुल १० हजार ४०० थान माला बरामद गरिएको हो।

बरामद मालाको जिम्मेवारी सशस्त्र प्रहरी बल बेलबारीका प्रमुख डीएसपी सन्तोषबहादुर सिंहलाई दिइएको छ। कानेपोखरी–४ का वडाध्यक्ष, सहकारीका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा मुचुल्का तयार गरी मालालाई सशस्त्र प्रहरी बलको बेलबारीस्थित कार्यालयमा लगिएको जनाइएको छ।सशस्त्र प्रहरी बल बेलबारीका अनुसार बरामद गरिएका भारतीय फूलका माला कार्यालय परिसरमै खाल्डो खनेर पुरी नष्ट गरिनेछ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।