बोक्रेचोक (मोरङ) ।कार्तिक ३०।
मोरङको पथरीशनिश्चरे नगरपालिका–२, कालापानीमा प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

कालापानी युनाइटेड क्लबको आयोजनामा आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न स्थानका ८ टोली सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ।
स्थानीय क्षेत्रमा खेलकुदको विकास, प्रतिभावान खेलाडीको पहिचान र युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका वडा नं. २ को कार्यालय रहेको छ। प्रतियोगिताले खेलकुदको प्रवर्द्धनसँगै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।‘कालापानी युनाइटेडको आह्वान, खेलकुद विकास हाम्रो अभियान’ भन्ने नारासहित २०८३ सालमा स्थापना भएको क्लबले प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, संघसंस्था तथा देश–विदेशमा रहेका शुभेच्छुकलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।