'ऐतिहासिक बयरवन बजार : १०० वर्षको गौरव, इतिहास र भविष्यको अभियान ।थारू पाेर्टल'

June 29, 2026

विज्ञापन
No data was found

असार ।१५।कानेपोखरी, 

मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–४ (साबिक बयरवन गाविस–६) मा अवस्थित बयरवन बजारले आफ्नो गौरवपूर्ण एक सय वर्षको यात्रा पूरा गरेको छ। तराईका पुराना तथा ऐतिहासिक बजारहरूमध्ये एक मानिने बयरवन बजारले केवल व्यापारिक केन्द्रको पहिचान मात्र बनाएको छैन, यसले पूर्वी तराईको सामाजिक, आर्थिक र सांस्कृतिक विकासको एउटा महत्वपूर्ण इतिहास पनि बोकेको छ।

एक शताब्दीअघि अहिलेको बयरवन क्षेत्र बाक्लो बयरको घारीले ढाकिएको थियो। स्थानीय अग्रज, उपलब्ध अभिलेख तथा ऐतिहासिक तथ्यअनुसार त्यही बयरघारी फाँडेर बस्ती विस्तार गरियो र “बैरबन हटिया”को स्थापना भयो। स्थानीय राजवंशी समुदायले यस बजारलाई “डेलाफोर हाट” नामले समेत चिन्ने गर्थे।

त्यतिबेला तराई क्षेत्र औलो, सर्प र घना जंगलका कारण जोखिमपूर्ण मानिन्थ्यो। त्यसका बाबजुद पहाडी जिल्ला धनकुटा, छथर, भोजपुरलगायतका क्षेत्रबाट व्यापारीहरू सहज व्यापारको खोजीमा बयरवन बजारसम्म आइपुग्थे। यसले बजारलाई पहाड र तराई जोड्ने महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा स्थापित गराएको थियो।

बुधबार र शनिबार लाग्ने हटियामा स्थानीय किसानले उत्पादन गरेका कृषि उपजदेखि दैनिक उपभोग्य वस्तुसम्मको कारोबार हुन्थ्यो। त्यस समय बयरवन बजारमा ध्युमा पकाइने तातो जलेबी निकै प्रसिद्ध थियो। बिहान चिया पिउन र साथीभाइसँग भेटघाट गर्न बजार आउने संस्कृतिले पनि यस बजारलाई सामाजिक जमघटको केन्द्र बनाएको थियो। हप्तामा दुई दिन बजार लाग्ने यो परम्परा आज पनि निरन्तर कायम छ।

तर बयरवन बजारको यात्रा सधैँ सहज भने रहेन। वि.सं. २०२९ र २०३६ सालमा भएका भीषण आगलागीले बजारमा ठूलो धनजनको क्षति पुर्‍यायो। धेरै पसल र घरहरू नष्ट भए। तर स्थानीय बासिन्दाको एकता, परिश्रम र दृढ संकल्पका कारण बजार पुनः निर्माण भयो। कठिन परिस्थितिलाई पार गर्दै बयरवनले आफ्नो अस्तित्व जोगायो र विकासको यात्रालाई निरन्तरता दियो।

बस्ती विस्तारसँगै बयरवन गाउँ पञ्चायत, धर्मभकारी, स्वास्थ्य चौकी, विद्यालय तथा साझा संस्थाहरूको स्थापना भयो। यी संस्थाहरूको विकासमा स्थानीय अग्रजहरूको दूरदर्शी नेतृत्व र योगदानले बयरवनलाई आजको अवस्थामा पुर्‍याएको हो। उनीहरूको त्याग र योगदान बयरवनको इतिहासमा सधैँ सम्मानका साथ स्मरण गरिनेछ।

यही गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै बयरवन बजारको शताब्दी वर्षको अवसरमा “ऐतिहासिक बयरवन बजार शताब्दी समारोह–२०८३” आयोजना गरिएको छ। राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन अर्थात् असार १५ को अवसर पारेर आयोजना गरिएको यो समारोहले स्थानीय इतिहास र राष्ट्रिय परम्परालाई एकै सूत्रमा बाँध्ने प्रयास गरेको छ।

यो शताब्दी समारोह केवल उत्सव मात्र होइन, बयरवनको ऐतिहासिक पहिचान संरक्षण गर्ने, अग्रजहरूको योगदानलाई सम्मान गर्ने, स्थानीय संस्कृति र मौलिकतालाई प्रवर्द्धन गर्ने तथा नयाँ पुस्तामा आफ्नो ऐतिहासिक विरासत हस्तान्तरण गर्ने साझा अभियान पनि हो।

एक सय वर्षको इतिहास बोकेको बयरवन बजार अब केवल अतीतको गौरवमा सीमित रहन चाहँदैन। यसको ऐतिहासिक महत्वको संरक्षण गर्दै पर्यटन, व्यापार र पूर्वाधार विकाससँग जोडेर नयाँ सम्भावनाहरू सिर्जना गर्नु आजको आवश्यकता हो। यसका लागि संघ, प्रदेश र स्थानीय सरकारसँगै सम्पूर्ण सरोकारवाला निकाय, सामाजिक संघसंस्था र आम समुदायको साझा सहयोग अपरिहार्य देखिन्छ।

मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित बयरवन बजार व्यवस्थापन समितिको आयोजनामा बजार स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा आयोजित ‘ऐतिहासिक बयरवन बजार शताब्दी समारोह–२०८३’ लाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे प्रमुख अतिथी रहेकाे थियाे भने कानेपाेखरी गाउँपालिका उपाध्यक्ष भाेला प्रसाद अधिकारीकाे विशिष्ट अतिथी रहेकाे थियाे भने वडाका वडा अध्यक्षहरूकाे अतिथीयता तथा सबै पार्टीका पदाधीकारी लगायतकाे अतिथीयता रहेकाे थियाे भने बजार व्यवस्थापन समितीकाे अध्यक्ष दिलिप शेर्पाकाे अध्यक्षामा कार्यक्रम संचालन भएकाे थियाे ।।।।

बयरवन बजारको सय वर्षे यात्रा हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ—इतिहास केवल सम्झनाका लागि होइन, भविष्य निर्माणका लागि पनि संरक्षण गर्नुपर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.