भदौ ।३१ ,बुधबार।
रविन्द्र बराल

माेरङकाे रंगेलीमा नेपाली कांग्रेसको संगठन विस्तार र जनाधार निर्माणका लागि स्वर्गीय रामेश्वर यादव, स्वर्गीय जागेश्वर मण्डल, स्वर्गीय विनोद ओझा र बजरंग अग्रवाल पाण्डव मण्डल लगायतका नेताहरूको नाम अग्रपंक्तिमा लिइन्थ्यो। अहिले भने त्यही कांग्रेसको संगठनात्मक अवस्थामाथि पार्टीभित्रै गम्भीर प्रश्न उठ्न थालेको छ। प्रजातान्त्रिक आन्दोलनदेखि स्थानीय तहसम्म नेपाली कांग्रेसले संगठन निर्माणमा लामो राजनीतिक यात्रा तय गरेको इतिहास छ।

कांग्रेसकै आधिकारिक इतिहासअनुसार २०४६ सालको जनआन्दोलनमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको थियो र त्यसपछि लोकतान्त्रिक अभ्यासलाई स्थानीय तहसम्म विस्तार गर्ने प्रक्रिया अघि बढेको थियो। तराई–मधेसको राजनीतिमा नेपाल सद्भावना पार्टीको प्रभाव बढेको समयमा रंगेलीमा कांग्रेसको संगठन जोगाउन पुराना नेताहरूले कठिन राजनीतिक परिस्थितिमा २०४६ सालपछि सद्भावना परिषद् राजनीतिक दलका रूपमा अघि बढेको थियोे । स्थानीय कांग्रेसका पुराना कार्यकर्ताहरूका अनुसार त्यही कठिन समयमा रामेश्वर यादव, जागेश्वर मण्डल र बजरंग अग्रवाललगायतले गाउँ–गाउँ पुगेर संगठन विस्तार गरेका थिए। बजरंग अग्रवालमाथि राजनीतिक गतिविधिका क्रममा कुटपिटसमेत भएको र त्यसका बाबजुद उनले कांग्रेसको संगठन विस्तारमा निरन्तर भूमिका खेलेको उनीहरूको दाबी छ। व्यक्तिगत घटनाको फाेटाेहरु समेत सार्वजनिक भएको थियो । कांग्रेसभित्र पहिले कठिन परिस्थितिमा पार्टी जोगाउने नेताहरूले संगठन विस्तार गरे, तर पछिल्ला दुई कार्यकालमा नेतृत्वले आफ्नै वडा समेत किन मजबुत बनाउन सकेन ?

स्थानीय कांग्रेसका केही नेताहरूका अनुसार पछिल्लो दुई कार्यकालमा वडा नम्बर ७ मै कांग्रेसले अपेक्षित संगठनात्मक उपलब्धि हासिल गर्ने सकेको छैन । आफ्नै वडामा नेतृत्व र संगठनलाई एकताबद्ध बनाउन नसक्ने नेतृत्वले नगरभर कांग्रेसलाई कसरी एकताबद्ध बनाउने ? संघीय निर्वाचनमा रंगेलीका ४ वडा बाट कांग्रेसले जम्मा ९१७ मत प्राप्त गरेको तथ्यलाई समेत संगठन कमजोर भएको संकेतका रूपमा केही कांग्रेस कार्यकर्ताले व्याख्या गरिरहेका छन । वडा नम्बर ७,५,४, र ६मा नेपाली काङ्ग्रेसको ८ सय भन्दा बडि क्रियाशिल रहेकाे र एक घर बारावर २ देखि ३ जना सम्म सदस्यीय हरु रहेको नेताहरुले बताए । वडा सदस्य समेतकाे जित सुनिश्चितता नहुनु नेपाली काङ्ग्रेसको लागि लज्जास्पद बनेको देखिन्छ । पुराना कार्यकर्ता उपेक्षित भएको आरोप कांग्रेसभित्र अर्को असन्तुष्टि पुराना नेता कार्यकर्तालाई पार्टीको मूलधारमा समेट्न नसकेको प्रष्ट रुपमा देखिन्छ। स्थानीय नेताहरूका अनुसार केन्द्रले फुकुवा गरे पनि, जिल्लाले बोलाए पनि, क्षेत्रले कार्यक्रममा सहभागी गराए पनि नगर नेतृत्वले आफ्नै तर्फबाट केही पुराना नेता तथा कार्यकर्तालाई निरन्तर बेवास्ता गर्ने प्रवृत्तिका कारणले रंगेलीमा नेपाली काङ्ग्रेस खस्कदै गएकाे प्रष्ट रुपमा देख्न सकिन्छ ।
विगतमा कांग्रेससँग जोडिएका केही प्रभावशाली व्यक्तिहरू पार्टी छाडेर अन्य राजनीतिक शक्तितर्फ गएको उनीहरूको दाबी छ। आफ्नो वडा नै एकताबद्ध बनाउन नसक्ने नेतृत्वले नगरको कांग्रेसलाई कसरी एकताबद्ध बनाउने ? नगर सभापति बन्न चाहने नेतृत्वले पहिले आफ्नै वडामा संगठन, पुराना कार्यकर्ता, नयाँ पुस्ता र स्थानीय जनताबीचको सम्बन्ध बलियो बनाउन सक्नुपर्छ। त्यसपछि मात्रै नगरमा संगठन निर्माण, जनसम्पर्क र निर्वाचनको नेतृत्व गर्ने नैतिक आधार बलियो बन्ने नेताहरुकाे तर्क छ। अबका दिनमा नेपाली काङ्ग्रेसले इतिहास सम्झिने कि इतिहासबाट सिक्ने ? रंगेली कांग्रेसको पुरानो पुस्ताले कठिन समयमा संगठन निर्माण गरेको स्मरण गर्दै अहिलेको पुस्तासँग कार्यकर्ताले प्रश्न गर्न थालेका छन् । रामेश्वर यादव, जागेश्वर मण्डल, बजरंग अग्रवाल, सन्जिव श्रेष्ठ , राधा मंण्डल, , विनोद ओझा र पाण्डव मण्डलजस्ता पुराना नेताहरूले कठिन परिस्थितिमा निर्माण गरेको राजनीतिक आधार आज कहाँ पुग्यो ? कांग्रेसको इतिहास आफैंले पनि लोकतान्त्रिक आन्दोलनमा हजारौँ कार्यकर्ताले जेल, यातना र व्यक्तिगत क्षति व्यहोरेको उल्लेख गर्छ। रंगेली कांग्रेसमा अहिलेको बहस केवल को नगर सभापति बन्ने हैन । पुराना पुस्ताले कठिन अवस्थामा बनाएको संगठनलाई नयाँ नेतृत्वले पुनः जनतामाझ कसरी फर्काउने मुख्य कुरा हाे ।
आगामी नगर नेतृत्वका लागि यही प्रश्न सबैभन्दा ठूलो राजनीतिक परीक्षा बन्ने देखिन्छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा रंगेली नगरसभापतिको नेतृत्वलाई लिएर कांग्रेसभित्र तीव्र बहस सुरु हुदैन गएको छ। अबको नगरसभापति को बन्ने कस्तो नेतृत्व हुन आवश्यक का बिषया बहस सुरु भएको हाे । विगतको नेतृत्वले के गर्यो भन्ने प्रश्न पनि उत्तिकै उठिरहेको छ। रंगेली कांग्रेसमा अहिले पदको प्रतिस्पर्धाभन्दा पनि संगठनको अवस्था, निर्वाचन परिणाम, पुराना कार्यकर्ताको व्यवस्थापन र आम नागरिकको विश्वास मुख्य राजनीतिक मुद्दा बन्नुपर्ने आवाज उठिरहेको छ। नगरसभापतिले आफ्नै वडामा कांग्रेसको संगठन बलियो बनाउन सफल बनाउन के के कार्यहरु गरेका थिए भन्नेे मुख्य बहसकाे बिषय बनाेकाे देखिन्छ ।
रंगेली–७ कै व्यक्ति नगरसभापति रहँदा स्थानीय तहमा दुई कार्यकालमा समेत आफ्नै वडामा नेपाली कांग्रेसले सदस्य समेत जिताउन नसक्नु काे मुख्य कारण के थियो ? वर्षौंदेखि कांग्रेसमा संघर्ष गरेका पुराना, सक्रिय तथा प्रभावशाली कार्यकर्ताहरू अन्य राजनीतिक दलतर्फ जाँदा उनलाई राेक्नका लागि जिल्ला ,केन्द्र र स्थानीय तहमा कति पल्ट छलफल भयो ? कार्यकर्ता पार्टी छाडेर जाँदा त्यसलाई केवल व्यक्तिगत राजनीतिक निर्णय भनेर पन्छिने कि संगठनभित्रको असन्तुष्टि र नेतृत्वको कमजोरी भएको अनुभव गर्ने ? पुराना कार्यकर्तालाई पार्टीमा टिकाइराख्न नगर नेतृत्वले के ठोस पहल गर्यो त ? उनीहरूको योगदानको मूल्यांकन कसरी भयो कि भए न ? अवसर र जिम्मेवारी वितरणमा सबैलाई समान व्यवहार भयो कि सीमित व्यक्ति र समूह वरिपरि मात्र कांग्रेसको राजनीति केन्द्रित भयो ? यसको जवाफ अब कस्ले दिने ? रंगेलीमा सङ्गठन राम्रो र जनमुखी भएको भए निर्वाचनमा परिणाम किन राम्रो आएन यसकाे जवाफ नेपाली काङ्ग्रेस ले खाेज्ने कि नखाेजने ? राजनीतिक संगठनको वास्तविक परीक्षा निर्वाचनमा हुन्छ। तर यहाँ भाषण, बैठक र सामाजिक सञ्जालका गतिविधिभन्दा मतपेटिकामा आएको परिणामले नेतृत्वको प्रभावकारिता मापन हुन्छ ?
अबको नगरसभापतिले केवल चुनाव जित्ने आश्वासन दिएर पुग्ने अवस्था छैन। पाँच वर्षको संगठन निर्माणको स्पष्ट खाका आवश्यक सार्वजनिक गर्नुपर्ने देखिन्छ । नौवटै वडामा नियमित संगठन विस्तार, पुराना कार्यकर्ताको सम्मानजनक पुनःसमावेश, युवालाई नेतृत्वमा ल्याउने नीति, सक्रिय सदस्यको वास्तविक परिचालन, वडा तहमा नियमित बैठक तथा जनताका समस्या उठाउने स्थायी संयन्त्र यी विषयमा उम्मेदवारको लिखित प्रतिबद्धता आउनुपर्ने आवाज उठिरहेको छ। त्यसैगरी पार्टी छाडेर अन्य दलमा पुगेका पुराना कांग्रेस कार्यकर्तालाई फर्काउने योजना के हो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
‘फर्किनुस्’ भन्ने आह्वान मात्रै गर्ने कि उनीहरूलाई सम्मानजनक राजनीतिक भूमिका पनि दिने? गुटको नेता होइन, कांग्रेसको नेता चाहिन्छ रंगेली कांग्रेसमा अबको नेतृत्वको सबैभन्दा ठूलो परीक्षा गुट मिलाउनु होइन, कांग्रेस मिलाउनु हो। नगरसभापति बन्ने व्यक्ति कुनै समूह, व्यक्ति वा गुटको प्रतिनिधि बन्ने कि सिंगो कांग्रेसको अभिभावक बन्ने? कार्यकर्तालाई निर्वाचनका बेला मात्र सम्झिने कि पाँच वर्ष नै संगठनसँग जोडिराख्ने? पुरानालाई सम्मान र युवालाई अवसर दिने कि फेरि सीमित घेराभित्रै राजनीति चलाउने? यी प्रश्नको उत्तर अब उम्मेदवारका भाषणबाट होइन, उनीहरूको विगतको काम, संगठनको अवस्था र चुनावी परिणामबाट खोजिनुपर्ने अवस्था आएको छ। रंगेली कांग्रेसका लागि आगामी नगर नेतृत्व केवल पदाधिकारी छनोटको विषय होइन संगठन जोगाउने कि कमजोर बनाउने भन्ने निर्णायक मोड बन्ने देखिन्छ। अब कांग्रेस कार्यकर्ताले पनि प्रश्न गर्नुपर्ने बेला आएको छ। ‘हामीलाई गुटको नेता चाहिएको हो कि चुनाव जिताउन सक्ने, कार्यकर्ता जोगाउन सक्ने र जनताको विश्वास फर्काउन सक्ने नगरसभापति चाहिएको हाे ?


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।