मेनु

कोशी प्रदेशमा १२ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक पारित, राजनीतिक दलहरूद्वारा स्वागत।थारू पाेर्टल

कोशी प्रदेशमा १२ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक पारित, राजनीतिक दलहरूद्वारा स्वागत।थारू पाेर्टल

विराटनगर । असाेज।२८

कोशी प्रदेश सभाबाट नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, चाम्लिङ, उर्दू, राजवंशी, राई, नेपाल र शेर्पा तथा सनथाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न कानुनी व्यवस्था गर्ने विधेयक सर्वसम्मत रूपमा पारित भएको ऐतिहासिक अवसरमा कोशी प्रदेशका राजनीतिक दलहरूले खुसी व्यक्त गरेका छन्।

 

कोशी प्रदेश सभाबाट २०८३ साल असोज २४ गते पारित भएको उक्त विधेयकलाई बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विविधताको सम्मान गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले भाषिक पहिचानको संरक्षण, संवर्द्धन तथा मातृभाषाको सम्मानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका प्रदेशस्तरीय नेताहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको मर्म, समावेशिता, समानता र सामाजिक न्यायका सिद्धान्तलाई आत्मसात् गर्दै विधेयक पारित हुनु साझा खुसीको विषय भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, संस्कृति, सभ्यता, पहिचान र आत्मसम्मानको आधारसमेत भएको जनाइएको छ। सरकारी कामकाजमा मातृभाषाको प्रयोग सुनिश्चित गर्ने व्यवस्थाले नागरिकलाई आफ्नै भाषामा सार्वजनिक सेवा प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

विधेयक पारित गराउन योगदान पुर्‍याउने प्रदेश सभाका सदस्यहरू, कोशी प्रदेश सरकार, भाषा आयोग, भाषिक अभियन्ता, विज्ञ, संघसंस्था तथा सम्पूर्ण सरोकारवालाप्रति संयुक्त विज्ञप्तिमार्फत हार्दिक आभार व्यक्त गरिएको छ। साथै, यस प्रक्रियामा देखिएको दलीय सहकार्य र साझा प्रतिबद्धताको उच्च प्रशंसा गरिएको छ।विज्ञप्तिमा विधेयक पारित हुनु उपलब्धिको सुरुवात मात्र भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था, बजेट, जनशक्ति, भाषिक स्रोतसाधन र संस्थागत संरचना निर्माण गर्न प्रदेश सरकारसँग आग्रह गरिएको छ।

भाषिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धनमार्फत समावेशी, न्यायपूर्ण, स्वच्छ, सुखी तथा समुन्नत कोशी प्रदेश निर्माण गर्न सबै राजनीतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, यस ऐतिहासिक अवसरमा सम्पूर्ण कोशी प्रदेशवासीलाई दीपावली तथा बधाई ज्ञापन गरिएको छ।

संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति उद्वव थापा, नेकपा (एमाले) का अध्यक्ष घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक हर्कबहादुर नेम्वाङ ‘मिसव’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामकुमार थापा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष दीपक याख्खाले हस्ताक्षर गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।