मेनु

थारू रौताभागी वंशको १४औँ सम्मेलन तथा समाजको प्रथम महाधिवेशन सम्पन्न ।थारू पाेर्टल

थारू रौताभागी वंशको १४औँ सम्मेलन तथा समाजको प्रथम महाधिवेशन सम्पन्न ।थारू पाेर्टल

इटहरी, सुनसरी।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१४, लोघनीमा थारू समुदायअन्तर्गतको रौताभागी थाक/पङ्हैत वंशको १४औँ सम्मेलन तथा ‘थारू रौताभागी समाज’ को प्रथम महाधिवेशन सम्पन्न भएको छ।

थारू रौताभागी वंशको एकता, पहिचान, संस्कृति संरक्षण तथा पुस्तौँदेखि चलिआएको परम्परालाई निरन्तरता दिने उद्देश्यले सम्मेलन तथा महाधिवेशन आयोजना गरिएको हो। कार्यक्रममा रौताभागी वंशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका व्यक्तिहरूको सहभागिता रहेको थियो।

रौताभागी थारू समुदायको ऐतिहासिक तथा विशिष्ट वंशका रूपमा चिनिन्छ। यस वंशका मानिसहरूको मुख्य बसोबास पूर्वी तराईका उदयपुर, सप्तरी, सिरहा, सुनसरी र मोरङलगायत जिल्लामा रहेको छ। रोजगारी, व्यवसाय तथा विभिन्न अवसरका कारण यस वंशका सदस्यहरू नेपालका अन्य जिल्लाका साथै अमेरिका, अस्ट्रेलिया, युरोप तथा खाडी मुलुकहरूमा समेत बसोबास गर्दै आएका छन्।रौताभागी वंशका अग्रजहरूले लामो समयदेखि वंशीय एकता, आपसी सद्भाव र परम्पराको संरक्षणका लागि भेला तथा सम्मेलन गर्दै आएका छन्। सोही परम्परालाई संस्थागत गर्दै ‘थारू रौताभागी समाज’ गठन गरिएको हो।

समाजले पितृहरूको सम्मान, अग्रजहरूको आदर, सांस्कृतिक सम्पदाको संरक्षण, वंशावलीको अभिलेखीकरण तथा भावी पुस्तामा आफ्नो इतिहास हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। यस क्रममा समाजको अक्षय कोष स्थापना तथा वेबसाइटमार्फत वंशावली पारित गर्ने कार्यलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

महाधिवेशनले रौताभागी वंशका सदस्यहरूबीच एकता र सहकार्य बढाउनुका साथै आफ्नो मौलिक पहिचान, इतिहास तथा संस्कृतिको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।रौताभागी वंशको एकता, संरक्षण र संवर्द्धनका लागि आयोजित यस ऐतिहासिक सम्मेलन तथा महाधिवेशनले समुदायलाई संगठित बनाउँदै भावी पुस्ताका लागि आफ्नो वंशीय इतिहास सुरक्षित राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।