मेनु

मोरङको कानेपोखरीमा विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि ४५ वटा सुरक्षित आवास निर्माण।थारू पाेर्टल

मोरङको कानेपोखरीमा विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि ४५ वटा सुरक्षित आवास निर्माण।थारू पाेर्टल

११ भदौ, कानेपोखरी ।

मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि ४५ वटा सुरक्षित आवास निर्माण गर्ने भएको छ।

गाउँपालिकाले ह्याविटाट फर ह्युमानिटी नेपाल र सहारा नेपालको त्रिपक्षीय साझेदारीमा कानेपोखरी गाउँपालिका–२ स्थित दलेलीपूर्व ऋषिदेव बस्तीमा ३२ वटा तथा वडा नं. ५ को करमटोलमा १३ वटा गरी ४५ वटा सुरक्षित आवास निर्माण गर्न लागेको हो।

कार्यक्रमअन्तर्गत बिहीबार वडा नं. २ को ऋषिदेव बस्तीमा निर्माण हुन लागेको गुल्टेन ऋषिदेवको घरको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले संयुक्त रूपमा घरको शिलान्यास गरेका हुन्।

निर्माण गरिने प्रत्येक आवास ३९१ वर्गफुट क्षेत्रफलको हुने बताइएको छ। घरसँगै ६४ वर्गफुटको भान्सा तथा १६ वर्गफुट क्षेत्रफलको शौचालयसमेत निर्माण गरिनेछ।

उक्त आयोजना निर्माणका लागि जेनिथ बिल्डर्ससँग २०८३ भदौ १ गते कानेपोखरी गाउँपालिकाले सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८४ साल जेठ मसान्तभित्र सम्पूर्ण ४५ वटा सुरक्षित आवास निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको कुल लागत ३ करोड ६३ लाख ९० हजार ८ सय रुपैयाँ रहेको छ। जसअन्तर्गत कानेपोखरी गाउँपालिकाले २ करोड ९ लाख २ हजार ७ सय रुपैयाँ, ह्याविटाट फर ह्युमानिटी नेपाल र सहारा नेपालले संयुक्त रूपमा १ करोड ८ लाख रुपैयाँ तथा लाभग्राही उपभोक्ताहरूबाट ४६ लाख ८८ हजार १ सय रुपैयाँ बराबरको लागत सहभागिता रहने जनाइएको छ।

प्रति घर करिब ८ लाख ८ हजार ६ सय रुपैयाँ लागतमा निर्माण सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ।

विपन्न तथा सुरक्षित आवासको अभावमा रहेका परिवारलाई लक्षित गरी निर्माण हुन लागेको यस आयोजनाले ऋषिदेव बस्ती र करमटोलका ४५ परिवारलाई सुरक्षित र व्यवस्थित आवासको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।