कानेपोखरी । भाद्र।१५
मोरङको कानेपोखरी गाउँपालिका–४ मा रहेको नव दिशा सुधार केन्द्र लागूऔषध तथा मादक पदार्थ उपचार केन्द्रको अनुगमन तथा निरीक्षण गरिएको छ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरदत्त पन्त तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले संयुक्त रूपमा केन्द्रको अनुगमन तथा निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको हो।
अनुगमनका क्रममा केन्द्रलाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लैजान निर्देशन दिइएको छ। साथै लागूऔषध तथा मादक पदार्थको दुर्व्यसनमा परेका व्यक्तिहरूको उपचार, पुनःस्थापना तथा सामाजिक पुनःएकीकरणका लागि केन्द्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

पछिल्लो समय लागूऔषध दुर्व्यसनविरुद्ध सञ्चालन भइरहेको महाअभियानअन्तर्गत अनुगमन तथा सचेतना कार्यक्रमलाई समेत तीव्र पारिएको जनाइएको छ। अभियानमार्फत लागूऔषध दुर्व्यसन नियन्त्रणसँगै समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने, जोखिममा रहेका युवालाई संरक्षण गर्ने तथा उपचार र पुनःस्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।