भाद्र।१८।
कानेपोखरी (मोरङ) ।
लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा अवैध ओसारपसार नियन्त्रण गरी सभ्य र सुरक्षित समाज निर्माण गर्ने लक्ष्यका साथ मोरङमा जिल्लाव्यापी ‘लागूऔषधविरुद्धको महाअभियान–२०८३’ (Mega CAN) सुरु भएको छ।

महाअभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजना तथा कानेपोखरी गाउँपालिकाको सहयोगमा बिहीबार कानेपोखरीमा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।
मोरङ जिल्लालाई नै पूर्ण रूपमा लागूऔषधमुक्त बनाउने दीर्घकालीन लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (SP) कवित कटवालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहहरूमा यस किसिमका चेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रमहरू क्रमशः सञ्चालन गरिनेछ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले युवा पुस्तालाई कुलतबाट जोगाउन परिवार र समाज दुवै उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले लागूऔषधमुक्त पालिका निर्माणका लागि गाउँपालिकाले प्रहरी र स्थानीय समुदायसँग सधैँ सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी (CDO) युवराज कट्टेलले लागूऔषधको अवैध ओसारपसार र बिक्रीवितरणलाई नियन्त्रण गर्न प्रशासनले शून्य सहनशीलता अपनाउने बताउनुभयो। पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले युवाहरूलाई रचनात्मक कार्य र रोजगारीमा जोडेर दुर्व्यसन तर्फ लाग्नबाट रोक्न सकिने धारणा राख्नुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवारको अर्थतन्त्र र सिंगो समाजमा पार्ने भयानक नकारात्मक प्रभावहरूलाई जीवन्त रूपमा उतारिएको चेतनामूलक गीति नाटक प्रस्तुत गरिएको थियो। उक्त जनचेतनामूलक प्रस्तुतिले त्यहाँ उपस्थित जनप्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई लागूऔषध विरुद्ध सचेत र जागरुक रहन महत्त्वपूर्ण सन्देश दिएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।