विराटनगर ।भाद्र,२१
विष्णु राजबंशी
विराट राजवंशी समुदायको गौरव, पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ऐतिहासिक राधाकृष्ण रथयात्रा २०८३ भव्य रूपमा सम्पन्न भएको छ।
राजवंशी समाज उत्थान समिति, केन्द्रीय कार्य समिति, विराटनगर–३ को आयोजनामा सम्पन्न रथयात्रामा राजवंशी समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराको आकर्षक प्रदर्शन गरिएको थियो। रथयात्राले समुदायभित्र आपसी एकता, सद्भाव र सांस्कृतिक चेतनालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष भुवनेश्वर राजवंशी, केन्द्रीय सदस्य हृदय राजवंशी, इन्द्रदेव राजवंशी लगायत राजवंशी समुदायका अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
रथयात्रामा प्रस्तुत सांस्कृतिक कार्यक्रम तथा भजन–संगीतले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो। चर्चित गायक दीप नारायण राजवंशीको सहभागिताले कार्यक्रममा विशेष रौनक थपिएको थियो। त्यस्तै प्रदीप विश्वास र साधुलाल राजवंशी लगायतको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो।
सहभागीहरूले राधाकृष्ण रथयात्रा केवल धार्मिक कार्यक्रम मात्र नभई विराट राजवंशी समुदायको मौलिक पहिचान, इतिहास, संस्कृति र एकताको जीवन्त प्रतिबिम्ब भएको बताएका छन्।

आफ्नो भाषा, संस्कृति, कला, परम्परा र ऐतिहासिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
“संस्कृति बचाऔँ, पहिचान जोगाऔँ, पुस्तौँपुस्ता जोडौँ” भन्ने सन्देशसहित सम्पन्न राधाकृष्ण रथयात्रा २०८३ ले विराट राजवंशी समुदायको सांस्कृतिक गौरव र पहिचानलाई थप उजागर गरेको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।