विराटनगर, असोज २२ ।

मोरङमा प्रहरीले लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१८ स्थित रेल्वे क्षेत्रमा अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी गस्ती टोलीले BR 38 AE 0497 नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर चेकजाँच गरेको थियो।चेकजाँचका क्रममा मोटरसाइकलमा २ वटा ठूलो कालो प्लास्टिकको पोका फेला परेको थियो। उक्त पोकाभित्र लुकाइछिपाइ राखिएको लागूऔषध गाँजा २४ किलो ४ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत, बिहार राज्य, अररिया जिल्ला कुर्साकाटा–७ बस्ने २० वर्षीय प्रवेश कुमार साह र सोही स्थान बस्ने २० वर्षीय सुरेश कुमार साह रहेका छन्।

प्रहरीका अनुसार उनीहरू नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। गाँजा र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।