विराटनगर ।

पत्रकार अर्जुन आचार्य मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका छन् । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले केही महिनाअघि नै रास्वपाको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत रहने क्लबमा आवेदन दिएका हुन् ।

कानेपोखरी गाउँपालिका–४ भंसवारी स्थायी ठेगाना भएका आचार्य लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल अनलाइन न्युज पोर्टल ‘रातोपाटी डटकम’ मा आर्थिक, संसदीय मामिला, खोजमूलक तथा समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।
पत्रकारितामार्फत सार्वजनिक चासोका विषय उठाउँदै आएका आचार्यले अब स्थानीय तहमै प्रत्यक्ष नीति निर्माण र विकासको नेतृत्व लिन राजनीतिमा पाइला चालेको बताए । उनले कानेपोखरीको समग्र विकासका लागि आफूसँग स्पष्ट खाका रहेको दाबी गरे ।

‘स्थानीय तहमा अझै पनि आधारभूत आवश्यकताको न्यायोचित वितरण हुन सकेको छैन,’ आचार्यले भने, ‘गाउँपालिकाको नेतृत्वमा पुगेर शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा योजनाबद्ध तथा नतिजामुखी काम गर्ने मेरो मुख्य उद्देश्य हो ।’ रास्वपाले योग्य उम्मेदवार छनोटका लागि देशैभरबाट पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आकांक्षीहरूको रोस्टर तयार गरिरहेको छ । सोही प्रक्रिया पूरा गरेर आचार्य चुनावी मैदानमा होमिने तयारीमा जुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।