पथरी शनिश्चरे समाचारदाता
असोज- २४ गते
मोरङको पथरिशनिश्चरेमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। पथरी शनिश्चरे वडा नं १ मा रहेको नर्वदेश्वर शिवालयको सभाहलमा नागरिक समाजको गुनासा, सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
नजिकिँदै गरेका नेपालीहरुको महान् चाड दसैँ, तिहार, छठ जस्ता विभिन्न चाडपर्वलाई लक्षित गरेर सुरक्षाका दृष्टिकोणले मोरङ जिल्लाका सम्पूर्ण मातहतका सुरक्षा निकायहरूलाई चुस्त दुरुस्त राखिएको बताउनु भयो। कार्यक्रममा सहभागी विभिन्न नागरिक समाजको अगुवाहरूको गुनासा, सुझाव र सवालहरुको जवाफ दिनुहुँदै प्रहरी उपरीक्षक कार्कीले प्रहरीको तर्फबाट आगामी दिनहरूमा गर्नुपर्ने सुरक्षा लगायत विभिन्न सतर्कताका लागि कार्यक्रम आयोजना गरिएको पनि उल्लेख गर्नुभयो। सोही क्रममा प्रमुख अतिथि समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्पोवाले प्रहरी एक्लैको प्रयासबाट समाजको शान्ति सुरक्षा र अमन चयन सम्भव नहुने भन्दै जिल्ला भरीकै पालिकाका जनप्रतिनिधिहरू र नागरिक समाजको पनि उत्तिकै अहम भूमिका रहने कुरामा दुई मत नरहेको उल्लेख गर्नुभयो। इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले आफ्नो कमाण्डमा रहेको प्रहरी टोलीले पछिल्ला केही दिन यता मादक पदार्थ सेवन , लागु पदार्थ सेवन तथा दुर्व्यसन, र अन्य विभिन्न किसिमका अपराधिक घटनाहरु नियन्त्रणका लागि गरिएका उपलब्धि सहितका प्रयासहरुबारे चर्चा गर्नुभएको थियो। सोहि कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्साल समेतले समग्र जिल्ला भरिका सडकहरूमा ट्राफिक गतिविधि र दुर्घटना न्यूनीकरणका लागि प्रयास गरिरहेको बताउनुभयो।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पथरिशनिश्चरे नगरकी उपप्रमुख देवीमाया काफ्ले, संविधान सभाका सभासदद्वय चण्डीप्रसाद राई तथा लालबहादुर सुश्लील मगर, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत, वडा नम्बर १,२,३, ७, ८ का वडाध्यक्षहरू क्रमश: भीम कुमार राई, नैना साम्पाङ राई, विजय लिम्बू, उद्धवराज बस्नेत, नवीनजंग कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधि , स्थानीय संघसंस्थाका प्रतिनिधि तथा अगुवा समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा पथरी उद्योग वाणिज्य सङ्घका महासचिव अशोक कुमार राई, राष्ट्रिय स्वतन्त्र पाटीका खड्गबहादुर श्रेष्ठ ,सुनाखरी माविका प्रधानाध्यापक भूमिका देवि मगर , नेपाल कम्युनिष्ट पार्टी माओवादी पथरिशनिश्चरे नगर कमिटीको कार्यवाहक अध्यक्ष गोविन्द कट्वाल, पथरी जेसीजका अध्यक्ष तथा जेसीआई सिनेटर राजकुमार विश्वकर्मा, लगायतले विभिन्न सल्लाह सुझाव र आफ्ना भनाई राख्नुभएको थियो।