असार १३ । रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिकामा खोरेत रोगको नियन्त्रण तथा रोकथामका लागी नगरकाे सभाहलमा एकदिने सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियोे ।

नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पशु सेवा विभागको पशु क्वारेन्टाइन कार्यालय विराटनगर काे आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ । पशु क्वारेन्टाइनका प्रमुख विदुर प्रसाद गौतम, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साह, इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख निर्मल खतिवडा, पशु सेवा शाखाका डा. विवेक यादव, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, पशु हाटबजार सञ्चालन समितिका प्रतिनिधि, दुग्ध सहकारी संस्थाका प्रतिनिधि, कृषक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा खोरेत रोगको परिचय, संक्रमण फैलिने माध्यम, रोगका लक्षण, उपचार तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

पशु क्वारेन्टाइन कार्यालयका प्रमुख विदुर प्रसाद गौतमले खोरेत रोग अत्यन्त संक्रामक भाइरल रोग भएकाले पशुहरूको अनियन्त्रित ओसारपसार, संक्रमित पशुसँगको प्रत्यक्ष सम्पर्क, दूषित हावा, पानी तथा दूध, दही, मक्खनजस्ता पशुजन्य पदार्थबाट सजिलै फैलिने बताए। उनले रोग नियन्त्रणका लागि पशु आवागमनमा निगरानी, क्वारेन्टाइन प्रणालीको प्रभावकारी कार्यान्वयन र समयमै खोप सञ्चालन आवश्यक रहेको उल्लेख गरे। रोग लागेका पशुमा मुखभित्र फोका आउने, घाउ हुने, अत्यधिक र्याल चुहिने, ज्वरो आउने, खुरमा घाउ देखिने, हिँड्न कठिन हुने, दूध उत्पादन घट्ने, गर्भ तुहिने तथा साना बाच्छाबाच्छीको मृत्यु हुनेजस्ता लक्षण देखिने जानकारी समेत गराईएकाे थियोे ।


विज्ञहरूले यो रोगको निश्चित उपचार नभएकाले लक्षणका आधारमा उपचार गरिने र संक्रमित पशुको उचित हेरचाह, गोठको सरसफाइ, आवश्यक औषधि प्रयोग तथा संक्रमण फैलिन नदिन जैविक सुरक्षा अपनाउनुपर्नेमा जोड दिए। सहभागीहरूले खुला सीमा क्षेत्रबाट हुने पशु ओसारपसार, नियमित खोप अभियान, पशु बजारको व्यवस्थापन तथा कृषकमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको सुझाव दिएका थिए। कार्यक्रममा खोरेत रोग नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, पशु व्यवसायी तथा कृषकबीच समन्वय र सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।