असार २२।
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिका ९ स्थित ऐतिहासिक दोहाना बजारमा आधुनिक बजार भवन निर्माण सन्चालनमा आएतापनि सब्जी तथा तरकारी व्यवसायीहरू अझै टेन्ट र तिरपालमुनि व्यापार गर्न बाध्य भएका छन्। बजार व्यवस्थापन प्रभावकारी नहुँदा दशकौँदेखि व्यापार गर्दै आएका किसान तथा व्यापारीले गर्मी, वर्षा र हावाहुरीका बीच खुला स्थानमै व्यवसाय सञ्चालन गर्नुपरेको गुनासो गरेका छन्।


हाल व्यापारीहरू टनटलापुर घाममा अस्थायी टेन्ट टाँगेर प्रत्येक आईतवार र बिहीबार तरकारी बिक्री गर्दै आएका छन्। स्थायी टहरा र आवश्यक पूर्वाधारको अभावले व्यापार सञ्चालनमा कठिनाइ हुनुका साथै उपभोक्ताले पनि असहज रूपमा किनमेल गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। करिब ३५ वर्षदेखि तरकारी व्यापार गर्दै आएका उर्मिला देवि यादवका अनुसार किसानले व्यवस्थित बजारको अभाव पुरानै समस्या रहेको र गर्मीकाे समयमा चर्को घाम र वर्षायाममा पानीका कारण व्यापार गर्न निकै कठिन हुने गरेको छ। वर्षा हुँदा अरूको टहरामुनि आश्रय लिनुपर्ने अवस्था आउने भए पनि सधैँ त्यहाँ बस्न नपाइने गरेको बिना देवि राजवंशी ले बताईन ।

व्यापारीहरूका अनुसार बजार क्षेत्रमा व्यवस्थित टहरा नहुदा समस्या परेकाे र शौचालय जाँदा समेत आफूहरूले रकम तिर्नुपरेको गुना दुखेसो समेत गरेका छन्। खुला स्थानमा तरकारी बिक्री गर्दा खाद्य स्वच्छता र उपभोक्ताको सुविधामा समेत असर परेको उनीहरूको भनाइ छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहका अनुसार सब्जी मण्डीका लागि स्थायी टहरा निर्माण गर्न टेन्डर आह्वान प्रक्रिया सुरु भइसकेको छ। चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको उनले बताए। बजार क्षेत्रमा रहेको सार्वजनिक शौचालयमा शुल्क असुली भइरहेको थाहा भए त्यस्तो कार्यमा संलग्न व्यक्ति पहिचान भए कानुनबमोजिम कारबाही गरिने बताए। सार्वजनिक शौचालय सबै नागरिकले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था रहेको भन्दै अनधिकृत रूपमा शुल्क असुल्न नपाइने उनले स्पष्ट पारे। स्थानीय किसान तथा व्यापारीहरूले नगरपालिकाले घोषणा गरेका योजना समयमै कार्यान्वयन भए वर्षौँदेखिको समस्या अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले दोहाना बजारलाई व्यवस्थित कृषि उपज बजारका रूपमा विकास गर्न स्थायी टहरा, व्यवस्थित स्टल तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा ढिलाइ नगर्न नगरपालिकासँग आग्रह गरेका छन्।