विराटनगर, ६ साउन।
मोरङको विराटनगरबाट प्रहरीले हतियार र लागूपदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।विराटनगर महानगरपालिका वडा नं. १८ झटियाही बुधनगर बस्ने अन्दाजी ५९ वर्षका लाल किशोर यादवको कोठाबाट १ थान कटुवा पेस्तोल र लागूऔषध बरामद गरिएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन ५ गते राति करिब ००:१० बजे यादवको कोठामा खानतलासी गर्दा उक्त हतियार तथा लागूपदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ परेका यादवलाई हतियार र लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो।