पथरी शनिश्चरे समाचारदाता,
असाेज-२२ गते
माेरङ्गकाे पथरीशनिश्चरे गोल्डकपको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले आफ्नो स्थान सुरक्षित गरेको छ। बिहीबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब फाइनलमा पुगेको हो। पथरीकाे प्रस्तावित रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि विजेताको टुंगो टाइब्रेकरबाट लगाइएको थियो। दबाबपूर्ण अवस्थामा पुलिसका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरे।
खेलमा पुलिस क्लबले २७औँ मिनेटमै अग्रता बनाएको थियो। सुजन मगरले गोल गर्दै पुलिसलाई १–० को स्थितिमा पुर्याउनुभयो। पहिलो हाफमा अग्रता कायम राखेको पुलिसलाई दोस्रो हाफमा भने एनआरटीले कडा चुनौती दियो। ५३औँ मिनेटमा एनआरटीले पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो। पुलिसका कप्तान राम बाजीले एनआरटीका शिशिर लेखीलाई पेनाल्टी एरियामा फल गरेपछि मुख्य रेफ्री श्याम दनुवारले एनआरटीलाई पेनाल्टी प्रदान गर्नुभएको थियो।

त्यसको सदुपयोग गर्दै आशिष गुरुङले गोल गर्नुभयो। त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेनन्। १–१ को बराबरीमा निर्धारित समय सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा एनआरटीका मिचेल गर्बुजा, सुदीप लामा र आशिष गुरुङले गोल गर्नुभयो। एनआरटीका कृतिश रत्न छुन्जुको प्रहार पोलमा लाग्यो भने विशाल थिङको प्रहार पुलिसका गोलरक्षक अमित टमटाले उत्कृष्ट बचाउ गर्नुभयो। पुलिसका लागि सुजन मगर, निरज खड्का, दशरथ गिरी र अमित टमटाले गोल गर्नुभयो।

कप्तान राम बाजीको प्रहार भने एनआरटीका गोलरक्षक विशाल सुनारले रोक्नुभयो। अन्ततः पुलिसले ४–३ को जित निकाल्दै फाइनलमा आफ्नो स्थान पक्का गर्यो। खेलमा पुलिसलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका सुजन मगर ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो। उहाँले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नुभयो। अब उपाधिका लागि नेपाल पुलिस क्लबले झापा ११ को सामना गर्नेछ। बुधबार भएको पहिलो सेमिफाइनलमा झापा ११ ले युकेएफसीलाई ५–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ। तेस्रो पथरीशनिश्चरे गोल्डकपको उपाधिका लागि शनिबार झापा ११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।